नेकपामा नयाँ विवाद

काठमाडौं : सत्तासीन दलभित्र मत्थर भएको भनिएको विवाद पुनः नयाँ सिराबाट बल्झिएको छ। बिहीबारलाई तय भएको पार्टी स्थायी समिति बैठक राख्ने÷नराख्ने विषयमा सचिवालयभित्र विवाद भएपछि प्रधानमन्त्री केपी ओली बैठक छाडेर बाहिरिएका थिए। यसले नेकपाभित्रको विवाद पुनः उत्कर्षमा जाने देखिएको छ।

निर्धारित समयभन्दा आधा घण्टापछि बैठक कक्षमा प्रवेश गरेका प्रधानमन्त्री ओलीले बैठकको अध्यक्षता गर्दै स्थायी समिति बैठक रोक्नेबारे छलफल गर्न चाहेका थिए। ‘संसद्को अधिवेशन बोलाइएको छ, सरकारको नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नुपर्नेछ। कोरोनाविरुद्धको लडाईंलाई अझै प्रभावकारी बनाउनु पर्नेछ’, सचिवालयका एक सदस्यले प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै भने, ‘अहिलेका प्राथमिकता यी हुन्। पार्टी एकतालाई मजबुत बनाउने र मिलेर जाने कुरा भएकै छ, साथीहरूले अहिलेको अवस्थामा सरकारको बाध्यता बुझिदिनुपर्छ। बैठक बस्ने कुरा रामै्र हो।’

बैठकमा ओलीले भनेका थिए, ‘अहिले प्रस्ताव बनाउने साथीहरूले तयार गरेर भ्याउनु पनि भएको छैन। पहिले प्रस्ताव तयार होस्, त्यसपछि सचिवालयमा छलफल गरौं, त्यसपछि स्थायी समितिमा जाऔंला।’ प्रधानमन्त्रीले कोरोना वाहेक अन्य विषयमा अहिले जानु नै बेकार हुने भन्दै प्राथमिकताका सूचीका आधारमा राजनीतिक दल आगाडि जानुपर्ने मत बैठकमा राखेका थिए।

स्थायी समिति बैठक पछि धकेल्ने प्रधानमन्त्रीको प्रस्तावपछि सचिवालय बैठकमा विवाद बढेको एक सचिवालय सदस्यले जानकारी दिए। प्रधानमन्त्रीको त्यस्तो प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनालले विरोध जनाएका थिए।

‘विधि प्रक्रिया अनुसार चल्ने भन्ने, बैठक पनि छल्न खोज्ने ? प्रस्तावमा छलफलमा जान नचाहने अनि कसरी हुन्छ ? २० गतेको सचिवालयको निर्णयको मर्म अनुसार एजेण्डा तय गरौं, प्रस्ताव त्यही अनुसार बनाऔं, स्थायी समिति बैठकमा छलफलमा जाऔं,’ दाहाल र नेपालले प्रधानमन्त्री ओलीको प्रस्तावमा असहमति जनाउँदै भनेका थिए।

नेताहरूले बैठकमै जोड गरेपछि प्रधानमन्त्रीले बैठकमा फेरि थपे, ‘सहमति अनुसार जाने हो भने फेरि किन तपाईंहरूले मेराविरुद्ध गुटबन्दी गर्दै हिँडेको ? बाहिर गुट भेला गर्दै हिँड्ने। यसरी पार्टी चल्छ, अहिले ध्यान केमा दिने ? संसद्मा नीति तथा कार्यक्रम र बजेटमा की अन्य विषयमा ? अहिले मलाई दौडधुप पनि छ। जिउ पनि दुखेको छ, आराम गर्छु। तपाईंहरू बस्दै गर्नुस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *