को बन्लान् ओलीको विकल्प ?

अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान प्रस्ताव गरेका छन् । स्थायी कमिटीका बहुमतभन्दा बढी सदस्यले प्रधानमन्त्री ओलीका पछिल्ला कदममाथि प्रश्न उठाउँदै बैठक माग गरेपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् ।

यो अवस्थामा अध्यक्ष दाहाल र नेपालले बैठक नै बोलाएर प्रधानमन्त्री ओलीका कामको समीक्षा गर्ने दिशामा अघि बढ्न थालेपछि बालुवाटारबाट मिलेर जाऔं भन्ने प्रस्ताव आएको हो। प्रधानमन्त्री ओलीनिकट नेताहरूले अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाललाई छुट्टाछुट्टै भेटेर मिलेर जाने भन्ने ओलीको सन्देश पुर्‍याएका छन्।

आइतबार बिहान स्थायी कमिटी सदस्य एवं प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल दुई अध्यक्ष मिल्नुपर्ने प्रस्ताव लिएर दाहाललाई भेट्न खुमलटार पुगेका थिए। ऊर्जामन्त्री वर्षमान पुनसहित खुमलटार पुगेका पोखरेलले पार्टीका समस्या हल गर्नका लागि दुई अध्यक्ष मिल्नुको विकल्प नभएको भन्दै आपसमा मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए। ‘कमजोरी कसको छैन र? कति कमजोरी तपाईंको पनि होला, कति केपी कमरेडको होला,’ पोखरेलको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीलाई बचाउनका लागि दुई अध्यक्ष मिल्नुको विकल्प छैन मिल्नुस्।’

दाहालसँगको भेटमा पोखरेलले अहिलेका लागि स्थायी कमिटी बैठक नराख्न आग्रह गरेका थिए। पोखरेलकै जस्तो आग्रह ओलीले शनिबार दाहालसँगको भेटमा पनि गरेका थिए। जवाफमा दाहालले अहिलेको समस्याको जड प्रधानमन्त्री ओली स्वयं भएकाले त्यसलाई सच्याउने र निकास दिने काम ओलीले नै गर्नुुपर्ने धारणा पोखरेलसमक्ष राखेका थिए। यसअघि शनिबार ओलीसँग मिल्ने प्रस्ताव लिएर नेता पोखरेल वरिष्ठ नेता नेपालको घरमा पनि पुगेका थिए। शनिबार साँझ महान्यायाधिवक्तासमेत रहेका ओलीका विश्वासपात्र अग्नि खरेल पनि नेपाललाई भेट्न कोटेश्वर गएका थिए। विगतमा ओली र नेपालसँग मिलेर काम गरेका ओलीनिकट अन्य नेताहरूले पनि नेता नेपाललाई विगतको धार जोगाउनुपर्छ भन्दै मिलेर जान आग्रह गरिरहेका छन्।

प्रधानमन्त्री ओली डिफेन्सिभ भएको छनक पाएपछि दाहाल र नेपाल दुवैले आफ्नो अडान नछोड्ने, बैठक नै बोलाउनुपर्नेतर्फ जोड दिएका छन्। दाहाल र नेपालको पोजिसन नबदलिने जस्तो देखिएपछि ओलीले आइतबार दिउँसो बालुवाटारमा आफू पक्षीय नेताहरूसँग छलफल गरेका थिए। छलफलमा सकेसम्म मिलेर जाने वातावरण तयार गर्ने, बैठक नै बोलाएको अवस्थामा भने कसरी डिफेन्स गर्ने भन्ने छलफल गरेका थिए। त्यही छलफलका कारण २ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक साँझ ५ बजेका लागि सारेका थिए। दिउँसो ४ बजे बस्ने भनेर तय भएको सचिवालय बैठक डाक्दै डाकेनन्।

शीर्ष नेताहरूसँगको भेटघाट र प्रधानमन्त्री ओलीसँगको बैठकपछि स्थायी कमिटी सदस्य शंकर पोखरेलले आइतबार सांँझ ‘पार्टी एकता जोगाउन विश्वास र सहकार्यको वातावरण तयार गरौं’ भन्दै आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘आपसी कटाक्ष र टिप्पणी बन्द गरौं। मिले जितिन्छ, झैं–झगडाले नासिन्छ, गम्भीर बनौं।’

ओलीले विभिन्न सूत्रहरूमार्फत नेपाललाई पनि अहिले तत्काल स्थायी कमिटी बैठक बोलाउनभन्दा आफूले सरकारका कमी–कमजोरी सच्याउने प्रस्ताव पठाएका छन्। उनले आगामी दिनमा पार्टीको विधानअनुसार आफू चल्ने र पार्टी निर्देशनअनुसार सरकार चलाउने भन्दै नेपाललाई समझदारीको प्रस्ताव पठाएका हुन्। ‘प्रधानमन्त्रीको प्रस्तावमा मुख्य तीन कुरा छन्,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘पहिलो उहाँले सबै पक्षलाई समेट्ने गरी मुख्यमन्त्रीहरू परिवर्तन गर्न सकिन्छ भन्नुभएको छ, दोस्रो समान सहभागिता हुने गरी मन्त्रिपरिषद् हेरफेर र तेस्रो आफ्नो निजी सचिवालयका सदस्य परिवर्तनको प्रस्ताव छ।’ नेपालले आफू विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूलाई दोहोरो प्रदेश इन्चार्जसमेत बनाएर दोहोरो जिम्मेवारी दिएको भन्दै पार्टी बैठकमा नोट अफ डिसेन्ट राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *