जेठ ५ पछि ठाउँ हेरी लकडाउन खुकुलो हुनसक्छ : विष्णु रिमाल

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जेठ ५ गतेपछि लकडाउन खुकुलो बन्न सक्ने बताएका छन्।शनिबार सेतोपाटीसँग कुराकानी गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले लकडाउन बढ्ने/नबढ्ने कुरा संक्रमण कसरी फैलिन्छ भन्नेले निर्धारण गर्ने समेत बताए।

‘यसमा धेरै मूल्यांकन भइरहेको छ मैले धेरै कुरा भन्ने भन्दा पनि उच्चस्तरीय समन्वय समितिले यस विषयमा अलि बढी गृहकार्य गर्छ। विज्ञ र चिकित्सकहरूले के भन्छन् भन्ने छ,’उनले भने,’संक्रामक रोगहरूसँग सम्बन्धित विज्ञहरूले के भन्नुहुन्छ त्यसकै आधारमा अगाडि बढ्ने र मन्त्रिपरिषदले निर्णय गर्ने हो। आजको स्थिति हेर्दा काठमाडौंमा उच्च सतर्कताकासाथ खुकुलो गर्न सकिने देखिन्छ।’उनले काठमाडौं जस्तै अन्त पनि लागू हुन सक्ने आफ्नो बुझाइ रहेको समेत बताए।

सामाजिक दूरी कायम गरेर व्यवसाय चल्न दिनुपर्छ भन्ने मान्यता सरकारको रहेको भन्दै रिमालले धरहरा,रानीपोखरी र प्रधानमन्त्री निवासमा केही समयसम्म रोकिएको निर्माणको काम सुरू भइसकेको बताए।माथिल्लो तामाकोशीको काम सुरूदेखि नै भइरहेको उनले बताए।

‘परिवारमा आधारित व्यवसाय खुल्न सक्छन् भन्ने मेरो बुझाइ छ,’उनले भने,’जतिबेलासम्म सार्वजनिक यातायात परिचालन गर्ने तहमा पुग्दैनौं त्यो बेलासम्म सतर्कता अति उच्च हुन्छ जस्तो मलाई लाग्छ।’अन्तराष्ट्रिय बोर्डर तत्काल खुल्ने सम्भावना नरहेको उनले बताए। ‘भारतमा संक्रमण फैलिएकाले दक्षिण,पूर्व र पश्चिमका सीमा नाका समेत बन्द भइरहने छ’, उनले भने।

नेकपा स्थायी समिति सदस्य समेत रहेका रिमालले स्थायी समिति बैठक बोलाउनेहरूको माग पूरा भइसकेको र बजेट र नीति तथा कार्यक्रमको समय रहेकाले तत्कालै स्थायी कमिटी बैठक बस्न जरूरी नरहेको समेत उनले बताए।-काठमाडौंलाई केही खुकुलो गर्नुपर्छ कि भन्ने ठानेका हौं र सरकारको पछिल्लो मन्त्रिपरिषद बैठकले केही गतिविधिलाई अगाडि बढ्न दिनेगरी निर्णय गरेको छ। यो एउटा संकेत हो जस्तो लाग्छ।

-कतिपय ठाउँमा महामारीको फैलावट बढेको छ।नेपालगञ्ज, वीरगञ्ज, कपिलवस्तु, उदयपुर लगायतका ठाउँहरू अहिल्यै खुकुलो गरिँदैन।-काठमाडौंमा साना-साना व्यवसाय खोल्दै जाने र त्यसबाट संक्रमण नहुने ग्यारेन्टी हुँदाखेरी त्यसलाई क्रमश: खोल्दै जाने स्थितिमा सरकार जान्छ होला।

-अन्तर्राष्ट्रिय उडान र बोर्डर बन्द हुनु भनेको मान्छेको गतिविधि कम हुन्छ भन्ने हो। बढिरहेको संक्रमण शान्त भयो र त्यसलाई नियन्त्रण गर्न सक्यौ भने हाम्रो आफ्नो गतिविधि बढाउन सकिन्छ।-स्वास्थ्य सामग्री ल्याउने क्रम बढिरहेको छ हामी अभाव हुन दिँदैनौं।

-माघमा केन्द्रीय कमिटी बसेकाले त्यो समयबाट तीन महिनाको गणना हुने हो। व्यवहारिक रूपमा तत्काल स्थायी समिति नबस्दा डुब्ने बिग्रिने केही पनि छैन।यसै सन्दर्भमा रहेर हामीले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार एवम् नेकपा स्थायी समिति सदस्य विष्णु रिमालसँग भिडिओ कुराकानी गरेका छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *