काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही महिना दुई केन्द्रहरूबीच शक्तिसंघर्ष चल्यो। एउटा सदाबहार केन्द्र बालुवाटार थियो भने अर्को सभामुख छनोट प्रक्रियापछि बनेको भैंसेपाटी केन्द्र। नेकपामा हस्तक्षेपकारी शक्ति बन्दै गरेको भैंसेपाटी केन्द्र विघटन भइसकेको छ। घरमालिक गौतमले आफूसँग रहेको शक्ति पोको पारेर बालुवाटार पुगेका छन्। भैंसेपाटी समूहमा रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल कोटेश्वर फर्किएका छन्।
गौतम बालुवाटार फर्किनुको रहस्य के हो? आफूलाई दिइएको भावी प्रधानमन्त्रीको आश्वासन पनि ‘आकाशको फल’ भएको गौतम आफैंलाई राम्रोसँग थाहा छ। त्यसो भए कुन कुराले उनलाई बालुवाटार फर्किन बाध्य पार्यो? यसबारे केही भित्री तथ्यहरू केलाउने क्रममा भेटियो बालुवाटारतर्फ मन फर्काउने ‘मन्त्री फ्याक्टर’।
प्रधानमन्त्री ओलीले सचिवालयमा बैठकमा राखेको आफूलाई प्रधानमन्त्री बनाउने प्रस्तावको आधार खोजिरहेका थिए गौतम। यही क्रममा भेट्न पुगेका पाँच/सात’ जना मन्त्रीहरुको उनलाई बालुवाटार फर्काउनुमा सबैभन्दा ठूलो भूमिका देखिन्छ। दोस्रोपल्ट सचिवालय बैठक बस्नुअघि गौतमलाई भेट्न वर्तमान सरकारका मन्त्रीहरु पुगेका थिए। वामदेवलाई भेटन् पुगेका मन्त्रीहरूमा पद्मा अर्याल, बसन्तकुमार नेम्वाङ, डा शिवमाया तुम्बाहाङ्फे, पार्वत गुरुङ रामवीरलगायतको समूह गौतमलाई भेट्न पुगेको थियो। पार्टी विभाजनको तहसम्म पुग्ने लक्षण देखिन थालेको भन्दै उनीहरु गौतमलाई भेट्न पुगेका थिए।
मन्त्रीहरुले गौतमलाई भेटेर ‘वारपारको लडाइँ’ लड्नुपर्ने हदसम्म नजान सुझाव दिए। नेताहरुबीच रहेको तिक्तता बैठकमै पोखेर मिल्न सुझाए। गौतमलाई घुमाउरो रुपमा भने, ‘पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने कि फुटाउने? त्यो तपाईंकै हातमा छ।’
यो शक्ति संघर्षमा गौतम जतातिर लाग्यो, त्यतै बलियो हुने दृष्य आँकलन गरिसकेका मन्त्रीहरूले घुमाउरो रुपमा ‘दोस्रोपल्ट पार्टी फुटाउने’ कलंकको टीका लगाउनबाट जोगिन सुझाए। उक्त भेटघाटमा सहभागी एक मन्त्री भन्छन्, ‘उहाँ कसरी अघि बढ्ने भन्ने ठूलो अन्योलमा हुनुहुन्थ्यो। शीर्ष नेताहरुको तहबाट आफूलाई धोका भइरहेको बुझाइ थियो।’
‘हामी मन्त्रिपरिषद्का धेरैजसो सदस्यहरूको सामूहिक आवाज लिएर नेता वामदेव कमरेडलाई भेट्न पुगेका थियौं। सबैजसो शीर्ष नेताहरूलाई फोनमा कुरा गरी पार्टी एकताबाट बचाउन आग्रह गरेका थियौं,’ नेता गौतमलाई भेट्न पुगेका एक मन्त्रीले भने, ‘वामदेवजीलाई भने हामीले भेटेरै कुराकानी गरेका थियौं।’ पार्टी एकता बलियो पार्न परिआए ‘सामूहिक राजीनामा’ समेत दिन तयार भएर उनीहरू शीर्ष नेताहरुबीचको मनमुटाव घटाउन सक्रिय थिए।