प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कोरोना महामारीले उत्पन्न गरेको संकटको समयमा पार्टी आन्तरिक विवादमा अल्झिएपछि राम्रो सन्देश नगएको विश्लेषण गर्दै पार्टी र सरकारको सम्पूर्ण ध्यान त्यसको नियन्त्रणमा जानुपर्ने निष्कर्ष निकालेको बताइएको छ । बैठकले २५ वैशाखमा स्थायी कमिटीको बैठक बस्ने निर्णयसमेत गरेको छ । पार्टी प्रवक्ताका अनुसार पार्टी तथा सरकारलाई सही दिशा निर्देशका लागि स्थायी कमिटीको बैठक बस्न लागेको हो । त्यसअघि २४ गते पुनः सचिवालय बैठक बस्नेछ । पार्टी संगठन सुदृढीकरणका साथै सरकारलाई चुस्तदुरुस्त ढंगले सञ्चालन गर्न आवश्यक निर्णय स्थायी कमिटीको बैठकले लिने र ती एजेन्डा सचिवालयको बैठकले तय गर्ने बताइएको छ ।
सचिवालयबैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको बताइएको छ । यसअघि १७ वैशाखमा बसेको सचिवालय बैठकमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री र सचिवालय सदस्य माधवकुमार नेपालाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय भएको हो । बैठकमा शीर्ष नेताबाट भएको कमीकमजोरीमाथि आत्मालोचना भएको तथा बैठकले पार्टी एकता कमजोर गर्ने कुनै पनि किसिमका क्रियाकलापमा संलग्न नहुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको पनि जनाइएको छ । स्मरणीय छ, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र खासगरी ८ वैशाखमा आकस्मिक रूपमा जारी गरिएको विवादित अध्यादेश र सो फिर्ता लिनेजस्ता कार्यपछि उनीप्रतिको असन्तुष्टि बढ्दो थियो । यसैक्रममा पार्टीमा पछिल्लो समय स्थायी कमिटीको माग बढेको र असन्तुष्ट पक्षका केही नेताले लिखित रूपमै बैठकको माग गरेका थिए ।