नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखियो: प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख २५ । प्रधानमन्त्री केपी ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको भन्दै सजग रहन चेतावनी दिएका छन् ।बिहीबार बुद्ध जयन्तीका अवसरमा दिएको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले महामारीले भयावह रुप लिन सक्ने चेतावनी दिँदै सबैलाई सजग हुन आह्वान गरेका हुन् ।सरकारले चालेका कदमहरुलाई प्रभावीको संज्ञा दिँदै उनले सरकारका कदमकै कारण स्थिति भयावह नबनेको दाबी पनि गरेका छन् ।

सन्देशमा उनले भनेका छन्, ‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन् । यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।’कोरोना संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीले कोेरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा लगेको उल्लेख गरेका छन् । नेपालमा बुधबारसम्म ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेको छ ।

शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, स्वयंसेवी, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न पनि प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।प्रधानमन्त्री ओलीले रोल्पामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *