काठमाडौं- भारतले नेपालसँगको सम्बन्ध विशेष रहेको उल्लेख गर्दै विशेष परिस्थितिमा पनि बहुपक्षीय सहयोगलाई निरन्तरता दिइरहेको बताएको छ।सीमा विवादका कारण पछिल्लो समय दुई देशको सम्बन्ध खराब चलिरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबारको नियमित पत्रकार सम्मेलनमा त्यसलाई नछोईकन नेपालसँगको प्राविधिक, मेडिकल र मानवीय सहायतालाई कोरोना भाइरस महामारीका बेला थप फराकिलो बनाएको दावी गरे।
सीमा विवादको विषय नेपालमा संविधान संशोधनको प्रकृयामा समेत रहेका बेला भारतीय विदेश मन्त्रालयको यो भनाइ आएको हो। नेपालले केही समय अघि भारतले दाबी गर्दै आएको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेत समेटेर आफ्नो नक्सा सार्वजनिक गरेको थियो।
नेपालको सभ्यता र ऊसँगको सांस्कृतिक सम्बन्धलाई सँधै महत्व दिइरहेको बताउँदै विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले दुई देशबीचको बहुआयामिक सम्बन्ध साझेदारी मानवीय, विकास र ‘कनेक्टिभिटी’को क्षेत्र भारतले थप फराकिलो बनाउँदै लगेको उल्लेख गरे।
लकडाउनका बेला नेपाललाई ठूलो मात्रामा मेडिकल सामग्री उपलब्ध गराएको र विदेशमा अलपत्र नेपाली नागरिकलाई समेत उद्धार गरेको स्मरण गराउँदै उनले भनेका छन्- दुवै देशमा लकडाउन रहेका बेलासमेत भारतले नेपालसँगको ब्यापार र अत्यावश्यक सामग्रीको निकासालाई जारी राखेको छ।भारतीय प्रधानमन्त्रीको नेतृत्वमा दक्षिण एसिया क्षेत्रमा कोभिड १९ सँग जुध्न साझा रणनीति बनाइरहेको पनि श्रीवास्तवले उल्लेख गरेका छन्।