सरकार र स्थानीय तहले चालेको प्रभावकारी कदम र उच्च सतर्कताले राजधानी उपत्यका सुरक्षित देखिएको छ । राजधानीका केही स्थानीय तहमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिए पनि नियन्त्रणमा आइसकेको छ । उपत्यकाका ललितपुर र भक्तपुरमा भने अहिलेसम्म सङ्क्रमण देखिएको छैन । काठमाडौँ जिल्ला समन्वय समितिले सरकार, मातहतका निकाय, स्थानीय तह लगायतको संयुक्त प्रयासबाट राजधानीमा कोरोना नियन्त्रणमा आएको स्पष्ट पारेको छ ।
स्थानीय तहका जनप्रतिनिधि लगायतका सरोकारवालाले उच्च सतर्कता अपनाएकाले कोरोना सङ्क्रमण फैलिन नपाएको हो । गत दुई हप्ताअघि कागेश्वरी मनोहरा नगरपालिकामा वडा नं. ९ स्थित सनसिटी अपार्टमेन्टका दुई जनाको पीसीआर पोजेटिभ देखिएको थियो । तर दुवै जना अहिले उपचारपछि घर फर्किसकेका छन् ।
काठमाडौँका ११ वटा स्थानीय तहमा कुल दुई हजार २२६ जनाको आरडीटी परीक्षण गरिएकोमा दुई हजार २२२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा तीन जनाको आरडीटी पोजेटिभ र बूूढानीलकण्ठ नगरपालिकामा एक जनाको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ र पीसीआर नेगेटिभ आएको हो । यहाँका ११ वटै स्थानीय तहले गत फागुन ३० देखि विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिको समेत आरडीटी परीक्षण गरेको काठमाडौँ जिल्ला समन्वय समितिले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।