परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरुको व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताएका छन्।वैदेशिक रोजगारीमा गएकामध्ये १० देखि ३० प्रतिशतले रोजगारी गुमाउन सक्ने र त्यसबाट उत्पन्न हुने चुनौतिलाई व्यवस्थापन गर्न सरकारले योजना बनाइराखेको मन्त्री ज्ञवालीकाे भनाई छ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री ज्ञवालीले कोरोना भाइरसका कारण देशभित्रै उत्पन्न हुने बेरोजगारी र बाहिरबाट फर्कनेको व्यवस्थापन चुनौतिपूर्ण भएपनि सरकारले योजनाबद्ध रुपमा काम गर्ने तयारी गरिराखेको बताए।
उनले भने ‘कोभिड १९ का असरहरु श्रम बजारमा कति गहिरो पर्ने हो भन्ने कुरा एकीन भन्न सकिँदैन, तर हामी १० देखि ३० प्रतिशतको स्थितिमा वैदेशिक श्रम बजार गुमाउँछौं।’एकातर्फ देशभित्रै बेरोजगारी कायम रहने, अर्कोतर्फ बाहिरबाट फर्किनेको संख्या बढ्ने भएकाले आगामी दिनमा बेरोजगार चुनौतिको रुपमा रहने उनले बताए। यसलाई सरकारले गम्भिरतापूर्वक लिएको र योजनाहरु तयार गरिरहेको ज्ञवालीको भनाइ छ।
कोभिड १९ बाट सिर्जना भएको समस्याबारे विदेशमा रहेका नेपाली दूतावासबाट नियमित जानकारी लिने र सम्बन्धित सरकारसँग पनि पहल भइराखेको उनको भनाइ छ।खाडी देशहरुमा बढ्दै गएको कोरोना संक्रमणबाट नेपालीहरुलाई समस्या परेको सम्बन्धमा दूतावासमा निरन्तर सम्पर्क गरी समस्याको समाधान गर्ने र आर्थिक समस्यामा पर्नेहरुका लागि राहतको व्यवस्था गर्ने काम भइराखेको मन्त्री ज्ञवालीले बताए।